मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन अझै लम्बिने सम्भावना

काठमाडौं, १४ वैशाख । कोरोना संक्रमण तथा रोकथामका लागि जारी लकडाउन र अन्य समसामयिक विषयमा निर्णय लिन मन्त्रिपरिषद बैठक बस्दै छ ।

आज बस्न लागेको मन्त्रिपरिषद बैठकले लकडाउनको स्वरुप कस्तो बनाउने वा कति अवधि लम्ब्याउने भन्नेबारे निर्णय गर्नेछ ।प्रधानमन्त्री निवास, बालुवाटारमा बोलाइएको बैठकले स्वरुप फेरबदल गरेर भए पनि जारी लकडाउनलाई अझै केही समय लम्ब्याउने सम्भावना रहेको स्रोतले बतायो । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले पनि लकडाउन हटाउन नहुने निष्कर्षसहित सरकारलाई आवश्यक निर्णय लिन प्रस्ताव गरेको छ ।

समितिले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको प्रतिबन्ध पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । संक्रमण देखिएका ठाउँमा कडाइ गर्दै अन्य केही क्षेत्र भने खुकुलो पार्न सकिनेबारे पनि छलफल हुने जनाइएको छ ।

गत चैत ११ गतेदेखि जारी लकडाउनको अवधि भोलि सोमबार (वैशाख १५) मा सकिँदैछ ।

SHARE NOW :

Leave a Reply

Your email address will not be published. Required fields are marked *