बैठक नबोलाए विकल्प खोजिने नेकपा स्थायी कमिटी सदस्यहरूको चेतावनी

नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले स्थायी समिति बैठक बोलाउन नमाने त्यसको विकल्पमा जान तयार हुनुपर्ने निष्कर्ष निकालेका छन्।

वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित निवासमा उनी निकट स्थायी समिति सदस्यहरूको छलफलमा यस्तो निष्कर्ष आएको हो।

‘प्रधानमन्त्रीसँग पार्टी बैठक बोलाउनुको विकल्प छैन। उहाँले बेठक बोलाउनुहुन्छ भन्ने पक्षमै हामी छौं,’ एक स्थायी समिति सदस्यले भने, ‘उहाँले बैठक बोलाउन आलटाल गरेमा हामी पनि विकल्प खोज्छौं। विकल्पका लागि वैधानिक बाटा पनि छन्। तर अहिले नै विकल्पमा जाने बेला भइसकेको छैन।’

आफू निकटका स्थायी समिति सदस्यलाई नेपालले प्रधानमन्त्री ओली बैठक बोलाउने पक्षमा नरहेको समेत जानकारी गराएका थिए।’साथीहरू तपाईंलाई सहयोग गर्ने मनस्थितिमा छैनन् भनेर मैले ओलीजीलाई भनेको छु,’ वरिष्ठ नेता नेपालका भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘त्यसो भए ठिकै छ, म पनि मेरै ढंगले चल्छु भनेर उहाँले भन्नुभएको छ।’

कोटेश्वरमा नेपाल निकटका स्थायी समिति सदस्यबीच छलफल चलिरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आइपुगेका थिए।

‘प्रधानमन्त्रीले पार्टी बैठक किन बोलाउनुपर्यो, हामी बसेर छलफल गरे भइहाल्छ नि भन्नुभएको छ। बैठक नगरी मिलाऊँ भन्ने कुरा छ,’ प्रचण्डका भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘उहाँले त्यसो भने पनि बैठकका लागि हाम्रो प्रयास जारी छ।’

सदस्य युवराज ज्ञवालीले स्थायी कमिटीले गरेका निर्णयका आधारमा पार्टी अगाडि बढ्ने बताए।’स्थायी कमिटीमा धेरै तर्क आउँछन्। त्यहाँबाट एउटा निर्णय आउँछ,’ उनले भने, ‘छिटोभन्दा छिटो सचिवालय बैठक बसेर स्थायी समितिको बैठक बस्नुपर्छ। आवश्यक परे केन्द्रीय कमिटी बैठक समेत राख्नुपर्छ।’

आफूहरूले लिखित रुपमै स्थायी समिति बैठक राख्न माग गरेकाले त्यसको विकल्प समेत नरहेको उनले बताए। अध्यादेश फिर्ता भए पनि विधानअनुसार बैठक बोलाउन पर्ने र थुप्रै गम्भीर विषयमा छलफल हुन बाँकी रहेको ज्ञवालीले बताए।

आगामी दुई-तीन दिनभित्र कुनै पनि हालतमा बैठक बोलाउनुपर्नेमा आफूहरूले जोड दिएको अर्का स्थायी समिति सदस्य रघुजी पन्तले बताए।

‘कोरोना भाइरस र लकडाउन देखाएर बैठक बोलाउन अलमल गर्न पाइँदैन। प्रधानमन्त्रीले चाहँदा बालुवाटारमा सांसदहरूको भेला भएकै छ। अनि स्थायी कमिटी बैठक हुन नसक्ने भन्ने हुँदैन,’ पन्तले भने, ‘यथाशीघ्र बैठक डाकियोस् भनेर हामीले भनेका छौं। राजनीतिक निर्णयहरू सचिवालयले मात्रै गरेर हुँदैन। स्थायी समितिमा छलफल गरेर निष्कर्ष निकाल्नुपर्छ।’

बैठकले राजनीतिक निर्णय दिने क्षमता राख्ने समेत उनले बताए।

स्थायी समिति सदस्य बेदुराम भुसालले बैठक बोलाउनेबारे छलफल चलिरहे पनि समय तय नभएको बताए।

‘पहिला त सचिवालय बैठक बस्छ होला। अहिले नै यसै भन्न सकिएको छैन,’ उनले भने, ‘हामी छलफल गरिरहेका छौं। बैठक बोलाउनुको त विकल्प छैन।’

माधव नेपाल निकटका सदस्यहरूसँग छलफल गरेपछि प्रचण्डले आफूनिकट सदस्यहरूसँग खुमलटारमा छलफल गरेका थिए। छलफलमा प्रचण्डले वरिष्ठ नेता माधव नेपाल पनि स्थायी कमिटी बैठक बोलाउनैपर्ने पक्षमा रहेको र यसको विकल्प नरहेको समेत बताएका थिए।

Source: Setopati.com

SHARE NOW :

Leave a Reply

Your email address will not be published. Required fields are marked *